Show

Forgot your password?

Show

Show

Lost your password? Please enter your email address. You will receive a link to create a new password.

Back to log-in

Close

'धोबी' बने इञ्जिनियरिङ र बिबिए पढेका दुई साथी

काठमाडौं साँघुरिदैछ। घर र बहुतले अपार्टमेन्ट थपिँदैछन्। त्यसमाथि न खुला ठाउँ धेरै बाँकी छ, न पर्याप्त कौसी। पानी समस्या काठमाडौंको पर्यायवाची भइसक्यो। यसमा मान्छेको व्यस्तता थपिएपछि के होला?

मुख्य चुनौती, लुगा धुन र सुकाउन। बल्ल–बल्ल आएको एउटा शनिबार लुगा धोएरै बिताउनु पर्दा उदेकलाग्दै हुन्छ। वासिङ मेसिन ल्याऊँ भने ठाउँ र पानी व्यवस्थापनकै समस्या।

यसको समाधान खोज्दै हुनुहुन्छ भने अब मोबाइलमा 'सफा लुगा (Safa Luga)' एप डाउनलोड गर्दा हुन्छ। यो एपमार्फत् घरै बसेर, परिवारसँग रमाउँदै वा आराम गर्दै लुगा धुने काम सकिन्छ। वा बिदाको दिन, लुगा दिएर घुम्नै गए पनि भयो।

'सफा लुगा' ले तपाईंको लुगा धोएर-सुकाएर-आइरन लगाएर-चटक्क पट्याएर घरमै ल्याइदिन्छ।यसका संस्थापक हुन् दुई साथी- २४ वर्षीय प्रणव काफ्ले र अंशु मिश्र।

कुनै समय आफ्नै लुगा धुन दिक्क मान्ने उनीहरूले आफूजस्तैको दिक्दारी समाधान गर्ने प्रयत्न गरेका हुन्।करिब ६ वर्षअघि कक्षा १२ पढ्दा यी दुई साथीको भेट भएको थियो। विचार मिल्ने भएकाले उनीहरूको मित्रता क्षणमै झाँगियो। पछि प्रणव यहीँ पब्लिक युथ क्याम्पसमा बिबिए पढ्न थाले। अंशु कम्प्युटर इञ्जिनियरिङ पढ्न भारतको बैंगलोर पुगे। दुई निकट साथी भौगोलिक रूपमा टाढिए पनि विचारमा उनीहरूको मित्रता झनै नजिकियो।

'साथीभाइको कुरादेखि घरायसी कुरासम्म एकअर्कालाई सुनाउँथ्यौं,' प्रणवले आफूहरूको मित्रताबारे खुलाए, 'भेट नभए पनि सामाजिक सञ्जालमार्फत सम्पर्कमा थियौं। एकअर्काको खबरसँगै भविष्यका कुरा गर्थ्यौं।'

अंशुले बैंगलोर रामैह्या इन्स्टिच्युट अफ टेक्नोलोजीमा इञ्जिनियरिङ गर्दा प्राक्टिकलक्रममा 'लन्ड्री' व्यवस्थापन पनि पढेका थिए। विभिन्न कम्पनीका निम्ति सफ्टवेयरसमेत बनाएका छन्। एकदिन कुरैकुरामा अंशुले प्रणवलाई बैंगलोरको लन्ड्री व्यवसायबारे सुनाए। उनी पढ्ने इन्स्टिच्युटका धेरैले लन्ड्रीलाई नै लुगा दिन्थे जसले उनीहरूको दैनिकी सहज बनाएको थियो।

चार वर्ष पढेर नेपाल फर्किएपछि अंशु र प्रणव पनि 'धोबीखाना' खोल्नेबारे घोत्लिन थाले। काठमाडौंमा धेरै धोबीखाना भएकाले उनीहरूलाई मान्छेको विश्वास जित्नु चानचुने थिएन। त्यसैले केही समय धोबीखानाको चलनबारे व्यावहारिक अध्ययन थाले।

सुरूका दिन धोबीखाना र ग्राहकबीच मध्यस्थकर्ताका रूपमा काम गरे। नयाँ बजारस्थित धोबीखानासँग झन्डै एक वर्ष मध्यस्थकर्ताकै रूपमा काम गरेपछि उनीहरूले अनुभव बटुले। परम्परागत धोबी चलनलाई प्रविधिसँग जोड्दै सन् २०१८, अप्रिलमा 'सफा लुगा' नामको एप सार्वजनिक गरे।

नेपाली नामहरू ब्रान्डका रूपमा बजारमा लोकप्रिय भइरहेकाले यो नाम राखेको प्रणव बताउँछन्।उनीहरूका अनुसार 'सफा लुगा' नेपालको पहिलो 'प्रिमियम लन्ड्री एप' हो। यसलाई 'पुनः परिभाषित धोबी' पनि भन्न रुचाउँछन्। केही समय एपमै सीमित 'सफा लुगा' अहिले कम्पनीकै रूपमा स्थापित छ।

'प्रविधि पछ्याउँदै हामी हिँडेका थियौं। डिजिटल नेपालको लागि राम्रो पहलसमेत भएको प्रयोगकर्ताहरू मान्छन्,' अंशुले एपबारे सुनाए, 'लुगा लिन जाने र पुर्‍याउने भएरै होला उपभोक्तालाई यसले सजिलो बनायो। एप डाउनलोड दोस्रो महिनामै ह्वात्त बढ्यो।'

परम्परागत शैलीको धोबीखानामा केही न केही त्रुटि भए पनि एपमा राम्रो प्रतिक्रिया आइरहेको उनी बताउँछन्।

मध्यस्थकर्ताका रूपमा काम गर्दा अनुभव र विश्वास बटुले पनि सिंगो धोबीखाना सञ्चालन गर्न सहज थिएन। फेरि दुवै जागिरे जीवनमा अल्झेका बेला।

अंशु डियरवाक टेक्नोलोजीमा काम गर्थे भने प्रणव टाटा मोटर्समा। आफैं केही गर्ने हुटहुटी बढेपछि जागिरै छाडेर 'सफा लुगा' लाई पूरै समय दिने सोचे।

'हामी ९–५ काम गर्थ्यौं, तर त्यसमा रमाउन सकेनौं,' प्रणवले भने, 'हाम्रो व्यक्तिगत विकास पनि भएको महशुस गरेनौं। दुवैमा आफ्नै व्यवसाय अगाडि बढाउने चाहना भएकाले पूरै समय यसैमा खर्चियौं।'

प्रणवको नेतृत्वको गुण र अंशुको प्राविधिक ज्ञान 'सफा लुगा'का लागि 'प्लस प्वाइन्ट' थियो। धोबीखाना खोल्ने क्रममा उनीहरूले रकम जुटाउन आफ्नो अवधारणा विभिन्न ठाउँमा प्रस्तुत गर्न थाले।सन् २०१८, नोभेम्बरतिर 'सिड स्टार्स वर्ल्ड' प्रतिस्पर्धामा उनीहरूले सहभागिता जनाए। त्यहाँ नयाँ व्यवसायिक विचार भएका कम्पनीले सहभागिता जनाउन सक्छन् र विजेताले व्यवसाय सुरू गर्न आर्थिक सहयोग पाउँछन्। प्रतिस्पर्धामा 'सफा लुगा'ले दोस्रो स्थान जित्यो।

त्यसपछि उनीहरूले नेपाल उद्यमी समाजमा पनि आफ्नो अवधारणा बुझाए।

काठमाडौं क्यापिटल लिमिटेडका सिइओ जलेश्वर पाण्डेको मन 'सफा लुगा'ले जित्यो। पाण्डेले अंशु र प्रणवलाई आर्थिक सहयोग गरे।

साथै अन्य धेरै लगानीकर्तासँग पनि उनीहरूको भेट गराइदिए। जसमध्ये कतिले बीचमै छाडे, केही नयाँ लगानीकर्ता पनि फेला परे। नपुगेकाे रकम आफन्त गणेश कट्टेलले सहयाेग गरेका प्रणवले बताए।

'लगानीकर्ताको विश्वास जित्नु चुनौतीपूर्ण थियो,' त्यस बेलाको अवस्था सम्झिँदै प्रणवले सुनाए, 'कतिलाई जोखिमको डर भएर होला, अलमल हुनुहुन्थ्यो। विश्वास गर्नेको साथ भएकै कारण आज धोबीखाना खोल्न सफल भएका छौं।'

दुई करोड पचास लाख रूपैयाँ लगानीमा खुलेको 'सफा लुगा' धोबीखाना काठमाडौंको कोलाहलभन्दा टाढा छ। धर्मस्थलीमाथि लिजमा लिएको एक रोपनी जग्गामा स्थापित 'सफा लुगा'को सम्पर्क कार्यालय पक्नाजोलमा पनि छ।'जग्गा लिइसकेपछि धोबीखानाका लागि वासिङ मेसिनबारे अध्ययन गर्‍यौं। सबभन्दा राम्रो युरोपियन प्रविधिको कम्प्युटरबाटै चलाउन मिल्ने सात वटा वासिङ मेसिन राख्यौं। एउटा सानो डेलिभरी भ्यान र ६ जना कामदार पनि नियुक्ति गरिहाल्यौं,' प्रणवले भने, 'योजना बनाएर काम सुरू गरे पनि बत्ती जडान नभएकाले धोबीखाना सञ्चालनमा बाधा भयो। झन्डै दुई महिना त कामदारलाई तलब मात्र दिनुपर्‍यो।'

नेपालमा 'केही गर्छु' भन्नेको खुट्टा तान्ने थुप्रै भएको उनीहरूको अनुभव छ। सरकारी कामकाजमै धेरै समय लाग्ने र धैर्य नभए युवा हार मान्ने उनीहरू बताउँछन्।

सुरूआती समयमा समाजका लागि पनि उनीहरूको काम स्वीकार्य थिएन। केही समयअघिसम्म पनि प्रणवका परिवारले 'यत्रो पढेर धोबीको काम गरेको' भनेका थिए रे।

यसरी बाहिरी वातावरणबाट नकारात्मक तरंग आइरहँदा, काममा ढिलाइ हुँदा र योजनाअनुसार काम नहुँदा कति पटक पछि हट्ने पनि सोच आएको प्रणव बताउँछन्, 'तर धैर्यलाई मूलमन्त्र बनाउँदै अघि बढ्यौं।'जनवरी २०२० देखि औपचारिक रूपमा धोबीखाना सुरू गरेको 'सफा लुगा'को दिनमा हजार किलो लुगा धुने क्षमता छ। मेसिनले लुगा धुने र सुकाउने गर्ने हुनाले मौसम जस्तो भए पनि समस्या नहुने प्रणव बताउँछन्।

'ग्राहकले एपमार्फत् सदस्यता जनाउन सक्नुहुन्छ। हामी किलोको हिसाबमा लुगा लिन्छौं। विद्यार्थी एवम् दैनिक ग्राहकलाई विशेष सदस्यता व्यवस्था छ,' उनले भने।

उनीहरूका अनुसार सामान्य लुगा एक किलोको एक सय ५० रूपैयाँ पर्छ। यसमा भ्याट थपिनेछ। सुविधामा लुगा लिन आउने, धुने, सुकाउने, आइरन र पुर्‍याइदिने छ। 'ड्राइ क्लिन' को मूल्य भने लुगाको प्रकृति हेरेर हुने प्रणव बताउँछन्।

लामो मेहनत, धैर्य र खटाइपछि आफ्नो कामले सार्थकता पाउँदा दुवै दंग छन्। कम्पनीमा प्रणव सेल्स र मार्केटिङ हेरिरहेका छन् भने अंशु फाइनान्स र अपरेसन। चुनौती बाबजुद 'सफा लुगा'लाई व्यावसायिक ढंगमा लैजान दुई साथी मरिमेटेको अंशु सुनाउँछन्। आपसी साथ, सहमति र समझदारी नै सफलताको कारण मान्छन् उनीहरू।

हाल 'सफा लुगा'ले काठमाडौं सेरोफेरोमा सेवा दिन्छ। अंशुका अनुसार सस्तो, चाँडो र गुणस्तर लुगा धुवाइमा विश्वास राख्ने 'सफा लुगा'को अन्य सहरमा पनि काम थाल्ने लक्ष्य छ।

'सफा लुगाले व्यस्त समाजको लुगा धुने झन्झट मुक्त गराउन खोजेको हो,' उनीहरू भन्छन्, 'कसैलाई लुगा धुनु छ भने 'सफा लुगा' सम्झियोस्, हाम्रो सपना यही हो।'

        Source by: https://www.setopati.com/nepali-brand/197635

Related Posts:
Users Testimonials
We are very happy because
we have happy users.